नेपालमै बन्यो 'मल्टिपलडेस्क' रिमोट डेस्कटप एप

नेपालमै बन्यो 'मल्टिपलडेस्क' रिमोट डेस्कटप एप

वर्क फ्रम होम र हाइब्रिड वर्कजस्ता कार्यशैली अपनाइरहेका संस्था, आईटी कम्पनी, शिक्षक, विद्यार्थी तथा सामान्य प्रयोगकर्ताका लागि यो एप उपयोगी रहेको कम्पनीको दाबी छ ।

विभिन्न अन्तर्राष्ट्रिय रिमोट डेस्कटप सफ्टवेयर प्रयोग गर्दा मासिक सयौं डलर खर्च गर्नुपर्ने बाध्यताको विकल्पका रूपमा नेपालमै 'मल्टिपलडेस्क' डेस्कटप रिमोट एप बनाइएको छ । नेपाली सफ्टवेयर कम्पनी जुनेली इंकले यो एप विकास गरेको हो । यसले विदेशी सफ्टवेयरमा निर्भरता कम गर्ने कम्पनीको दाबी छ ।

रिमोट डेस्कटप एप्लिकेसले प्रयोगकर्तालाई घर वा कार्यालयका कम्प्युटर अन्त कतैबाट चलाउने सुविधा दिन्छन् । हाल टिम भ्युअर, एनीडेस्कजस्ता एप लोकप्रिय छन् । यी एपमार्फत आफूसँग भएको ल्यापटपबाटै कार्यालयका कम्प्युटरमा रहेका फाइलहरू खोल्न, सफ्टवेयर चलाउन वा अन्य कुनै पनि काम गर्न सकिन्छ । कोरोनापछि बढेको हाइब्रिड वर्क कल्चर र कार्यालय नगई काम गर्ने प्रवृत्तिलाई यस्ता एपले सहज बनाउँछन् । रिमोट डेस्कटप एप अहिले विश्वका सीमित कम्पनीहरूले मात्रै बनाएका छन् र तिनको सेवा शुल्क महँगो छ ।

जुनेली इंकका प्रमुख कार्यकारी अधिकृत अपार थेबेका अनुसार नेपालमै बनेको मल्टिपलडेस्कले विदेशी विकल्पलाई प्रतिस्थापन गर्न सक्छ । ‘हामी आफैँले पनि महिनाको २४३ डलर तिरेर विदेशी एपबाट काम गर्ने गरेका थियौँ,’ उनले भने, ‘त्यसलाई समाधान गर्न सुरुमा आन्तरिक प्रयोजनका लागि एप बनायौं, तर प्रतिक्रिया राम्रो आएसँगै बजारमा ल्याउन लागेका हौँ ।’

जुनेलीले दुई साताअघि यो एपको सफ्ट लन्च गरेको छ । हालसम्म ८ हजारभन्दा बढी प्रयोगकर्ताले मल्टिपलडेस्क डाउनलोड गरेको थेबेले जानकारी दिए । भारत, चीन, रुस र तुर्कमिनिस्तानमा समेत एप डाउनलोड भएको छ ।

डेटा सुरक्षा र गोपनियताका लागि एईएस २५६-बिट इन्क्रिप्सन, डिजिसर्टको ईभी लाइसेन्सजस्ता प्रावधान समावेश गरिएको थेबेले बताए । ‘प्रयोगकर्ताको डेटा नेपालमै रहेको सर्भरमा जिरो नलेज मोडमा सुरक्षित राखिने भएकाले कम्पनीकै कर्मचारीले समेत ग्राहकको डेटा हेर्न सक्दैनन्,’ उनले भने, ‘हाल प्रिमियम भर्सनमा उपलब्ध एपमा दैनिक दुई जीबीसम्म डेटा ट्रान्सफर र च्याट सुविधा उपलब्ध छ ।’ प्रिमियम भर्सनमा प्रयोगकर्ताका लागि अडिट लग, सेसन रेकर्डिङ, मल्टिडिभाइस एक्सेस, डबल फ्याक्टर अथेन्टिकेसनजस्ता सुविधा थपिने कम्पनीले जनाएको छ । 

‘हामीले प्रिमियम सेवाको शुल्क मासिक ६५० वा ९५० (वार्षिक भुक्तानीमा) राख्ने तयारी गरेका छौं,’ थेबेले भने, ‘सन् २०२५ को अन्त्यसम्ममा लिनक्स र एन्ड्रोइड भर्सनमा पनि ल्याउँदै छौँ । त्यतिखेर भडियो मिटिङको सुविधामा पनि थप्छौँ ।’ वर्क फ्रम होम र हाइब्रिड वर्कजस्ता कार्यशैली अपनाइरहेका संस्थाहरू, आईटी कम्पनी, शिक्षक, विद्यार्थी तथा सामान्य प्रयोगकर्ताहरूका लागि यो एप विशेष उपयोगी रहेको कम्पनीले जनाएको छ ।

स्थानीय स्तरमै बनेको यो रिमोट डेस्कटप एपले अब नेपालबाट विदेश जाने ठूलो रकम जोगाउन सक्ने र नेपाली प्रयोगकर्ताका आवश्यकता अझ नजिकबाट सम्बोधन गर्न सक्ने कम्पनीको दाबी छ । थेबेका अनुसार रिमोट डेस्कटप एप्लिकेसन सेवा खरिदबापत नेपालबाट वार्षिक नेपालमा १० लाख डलरभन्दा धेरै पैसा बिदेसिने गरेको छ ।