
प्रविधिमा नेपाली आईटी कम्पनीको फड्को– जुनेली इङ्कले ल्यायो ‘मल्टिपल डेस्क’
आईटी क्षेत्रमा नयाँ आयाम थप्न नेपाली आईटी कम्पनी जुनेली इङ्कले ‘मल्टिपल
डेस्क’ नामक ‘रिमोट डेस्कटप’ सञ्चालनमा ल्याएको छ । प्रविधिको तीव्र
विकाससँगै आईटी क्षेत्रमा बढ्दै गइरहेको प्रतिस्पर्धाका बीच नेपाली आईटी
कम्पनी जुनेली इङ्कले रिमोट डेस्कटप ल्याएको हो । नेपाली बजारका साथै
अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो परिवर्तन ल्याउने सम्भावनासहित अपार
थेबेले स्वदेशी रिमोट डेस्कटप सञ्चालनमा एप ल्याएका हुन् ।
नेपालमै निर्माण गरिएको र विश्वस्तरीय सुरक्षासहितको यो डेस्कटप अब छिट्टै
औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)
थेबेले लोकान्तरलाई बताए । अहिले सबैका लागि सबै प्लेटफर्महरूमा यो एप
उपलब्ध गराइएको छ । एकै समयमा धेरै कम्प्युटरलाई एउटै इन्टरफेसबाट सञ्चालन
तथा व्यवस्थापन गर्न सकिने यस एपले विश्वव्यापी रूपमा छुट्टै स्थान बनाउने
उनको विश्वास छ ।
विश्वस्तरीय सुरक्षासहित ल्याइएको रिमोट डेस्कटपले घरमै बसेर संसारको कुनै पनि कुनामा भएको कम्प्युटरमा पहुँच दिन्छ । अर्थात्, जुनसुकै स्थानबाट पनि अर्को डेस्कटपको सुरक्षित ‘एक्सेस’ पाउन सकिन्छ । जसले गर्दा घरमा अथवा बाहिर आफ्नो कार्यालयको डेस्कटप, ल्यापटप वा सर्भरलाई सजिलै चलाउन सकिन्छ । फाइलहरू हेर्न र कुनै पनि सफ्टवेयर चलाउन पनि सजिलै सकिन्छ । यसले ठ्याक्कै कम्प्युटरको अगाडि बसेर चलाएको जस्तो अनुभूति दिन्छ ।
नेपाली प्रयोगकर्ताहरूको आवश्यकता र इन्टरनेट पूर्वाधारलाई ध्यानमा राखेर बनाइएको एपले कम ब्यान्डविथमा पनि उत्कृष्ट कार्यसम्पादन गर्ने कम्पनीको दाबी छ, जुन नेपालजस्तो विकासोन्मुख देशका लागि सहज र महत्त्वपूर्ण हुन्छ ।
उनका अनुसार एपको इन्टरफेस निकै सरल र सहज बनाइएको छ । प्राविधिक ज्ञान नभएका व्यक्तिहरूले पनि सजिलै यसको प्रयोग गर्न सक्छन् । सरल भए पनि मल्टिपल डेस्कले बलियो इन्क्रिप्सन र सुरक्षा प्रोटोकलहरू प्रयोग गरी प्रयोगकर्ताको डेटा र गोपनीयतालाई सुनिश्चित गरेको कम्पनीको भनाइ छ, जहाँ अनधिकृत पहुँचलाई रोक्न अत्याधुनिक सुरक्षा प्रविधि अपनाइएको छ ।
जुनेली
इङ्कको आधिकारिक वेबसाइटमा गएर मल्टिपल डेस्क सेवा लिन सकिन्छ । जुनेली
इङ्कको वेबसाइटमा एउटा खाता सिर्जना गरेर लगइन गर्न सकिन्छ ।
के हो ‘मल्टिपल डेस्क’ ?
नेपाली सफ्टवेयर कम्पनी जुनेली इङ्कले विकास गरेको ‘मल्टिपल डेस्क’ एक रिमोट डेस्कटप एप हो । प्रयोगकर्तालाई आफू उपस्थित नभएको ठाउँबाट पनि आफ्नै कम्प्युटरमा सजिलै पहुँच दिनका लागि बनाइएको यो एपले संसारको जुनसुकै स्थानमा रहे पनि इन्टरनेट उपलब्ध हुँदा अन्य कम्प्युटरसँग पहुँच दिन्छ ।
सामान्यतया धेरैपटक यात्रा गर्दा, घरमै बस्दा वा विदेशमै हुँदा पनि आफ्नो कम्प्युटर सुरक्षित रूपमा चलाउन पाए हुन्थ्यो जस्तो लाग्छ । अथवा, आफ्नो कम्प्युटरमा समस्या आएमा त्यसको समाधान अनलाइनमार्फत दिनका लागि यस्ता मल्टिपल डेस्कको आवश्यकता पर्दछ ।
यसबाट कुनै पनि स्थानमा रहेको डेस्कटपको एक्सेस लिएर महत्त्वपूर्ण फाइल हेर्न वा समस्या समाधान गर्न सकिन्छ ।
विशेष गरी सरकारी कार्यालयदेखि, बैंक तथा वित्तीय संस्था, शिक्षक, विद्यार्थी र सूचना प्रविधि क्षेत्रमा कार्यरत व्यक्तिले यसको प्रयोग गर्दै आइरहेका छन् ।
मल्टिपल डेस्कमा प्रयोग भएको एईईएस २५६–बिट संकेतन प्रविधिले सम्पूर्ण डेटा सुरक्षित बनाउने कम्पनीको दाबी छ ।
फाइल आदान–प्रदान, बहु–पर्दा प्रयोग, प्रतिलिपि–पट्टि मिलाउने सुविधा र सेसन रेकर्ड गर्ने जस्ता सुविधा पैसा तिरेपछि आउने संस्करणमा उपलब्ध छन् । तर, साधारण प्रयोगका लागि नि:शुल्क संस्करण पनि उपलब्ध छ ।